धनगढी, १४ मंसिर/कैलालीको गौरीगंगा नगरपालिका–१० सुन्दरपुरमा चौथा लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८ हुने भएको छ ।
‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित यही मंसीर १६ र १७ गते कार्यक्रम हुने भएको हो ।लवाङ्गी सांस्कृतिक कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीद्वारा हुने आयोजकले जनाएको छ ।
कार्यक्रम अतिथीहरुमा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य राम चरण चौधरी, वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर ऐर लगायत रहने जनाइएको छ । साथै कार्यक्रममा कलाकारहरुको पनि वेजोड प्रस्तुती रहने जनाइएको छ । कलाकारहरुमा थारु लोक गायक मनिराम चौधरी, मोडल महिमा कुश्मी, सुनिता चौधरी, बीर चौधरी, घोडाघोडी नाट्य समूहको नाच, फुल कुमारी, गायक राजु चौधरी, गायिका संगीता चौधरीको बेजोड प्रस्तुती रहने मिडिया संयोजक दिनेश दहितले जनाएका छन् ।
त्यस्तै आदर्श महतो डान्स ग्रुप, आइसा चौधरी, गायक खुशी रत्गैया, अञ्जन चौधरी, तुफान चौधरीको पनि प्रस्तुती रहने मिडिया संयोजक दहितले जानकारी दिए । कार्यक्रमको उद्घोषक सुनिता चौधरी फकलपुरान बुडी रहेकी छन् । थारु गुरुवा बदैवा समाज सेवा समिति कैलालीको आयोजनामा हुने कायक्रमलाई विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् ।