धनगढी, ७ मंसिर । कैलालीमा निर्वाचनका माध्यमबाट नेपाली काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।

कैलालीमा सभापति नरनारायण शाह ‘मनु’, धनगढीका मेयर नृपबहादुर वड, पूर्वमन्त्री रामजनम चौधरी, प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, मोहनसिंह राठौरलगायत नेताहरुको समर्थनमा अर्को प्यानल चुनावी प्रतिस्पर्धामा छ । यो समूहलाई नेता लेखकको समर्थन रहेको छ । वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनमा यही समूहको बर्चश्व देखिएको छ ।

क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिका लागि देउवा पक्षकै दुई प्यानल भएपछि सोमबार चुनाव भएको छ । क्षेत्रीय सभापतिमा बसन्त रोकाया र दिनेशराज जोशीबीच प्रतिस्पर्धा भएको छ । २५ सदस्य महाधिवेशन प्रतिनिधिका लागि ५० जनाबीच प्रतिस्पर्धा भएको छ । हिजोबाट सुरु भएको मत गणना अहिले सम्म जारी रहेको काग्रेसले जनाएको छ ।

अन्य क्षेत्रमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन प्रचारप्रसार समितिका संयोजक सुनारले बताए । देउवा पत्नी आरजु राणाले चुनाव लडेको क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापतिका लागि पाँच जना र २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका सुनारले जानकारी दिए । सभापितमा इश्वरप्रसाद जोशी, भीम पडाल, सन्तोष मुडभरी, हरि रेग्मी र हिरासिंह पातलीले उम्मेदवारी दर्ता गरेका थिए ।

क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिमा रिता चौधरी र गोकेन्द्र भण्डारी तथा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५३ जनाले उम्मेदवारी दर्ता गरेका सुनारले जानकारी दिए ।

यस्तै क्षेत्र नम्बर १ मा सभापतिमा भुवनेश्वर अधिकारी र प्रकाश शाहले उम्मेदवारी दर्ता गरेका थिए । यो क्षेत्रमा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाले उम्मेदवारी दिएका काँग्रेस कैलालीले जनाएको छ ।
प्रचारप्रसार समिति संयोजक सुनारका अनुसार बाँकी चार वटा क्षेत्रमा क्षेत्रीय सभापति र महाधिवेशन प्रनिनिधि छान्न मंगलबार निर्वाचन भईरहेको छ ।