धनगढी, २ मंसिर । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत कैलालीमा पालिकास्तरको अधिवेशन भइरहेको छ। मंगलबारदेखि सुरु भएको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइरहेको छ।
काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार अधिकांश पालिकामा चुनावमार्फत नेतृत्व चयन भइरहेको छ। धनगढी, जानकी र जोशीपुरमा भने सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ।
धनगढी उपमहानगरमा नेपाली काग्रेसको सभापतिमा यज्ञराज उपाध्याय चयन भएका छन्। कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक सुनारका अनुसार आज भएको अधिवेशनमा सभापतिमा उपाध्यायबाहेक कसैले पनि मनोनयम दर्ता नगरेपछि उनी सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्।
नगर समितिको अन्य पदका लागि भने चुनाव भइरहेको छ। यस्तै जानकी गाउँपालिकामा गणेश रेग्मी र जोशीपुरमा बशींराम चौधरी सर्वसम्मत सभापति चयन भएका छन्।
बर्दगोरिया गाउँपालिकामा कृष्ण बिष्ट, मोहन्यााल गाउँपालिकामा कमल साउँद र चुरे गाउँपालिकामा हेम शाह सभापतिमा चयन भएका छन्। तीन वटै पालिकामा चुनाव भएको प्रचारप्रसार समितिका संयोजक सुनारले बताए।
उनले अन्य पालिकामा भने निर्वाचन भइरहेकाले भोलि विहानसम्म नतिजा आउने दिनेशखबरलाई जानकारी दिए। पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ।
मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ। कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।