बैतडी, २ मंसिर । बैतडीमा नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गरिने भएको छ। दशरथचन्द नगरपालिकाले जिल्ला सदरमुकाम आसपासका चार विद्यालयलाई बुधबार पत्राचार गरी तीन दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेको हो।
नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको छ।
वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजीयाले विद्यालयले पत्र प्राप्त गरिसकेपछि जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको बताए। विद्यालय बन्द गराउन मिल्दैन कि भनेर पत्राचार गरिएको उनले बताए।
नेपाली कांग्रेस बैतडीले पनि यही मंसिर ४ देखि ८ गतेसम्म हुने क्षेत्र तथा जिल्ला अधिवेशन उद्घाटन तथा निर्वाचन प्रयोजनमा ४ दिनका लागि विद्यालय भवन तथा फर्निचर उपलब्ध गराउन वीरेन्द्र माविलाई पत्र लेखेको छ।