एजेन्सी – एसोसियट टोली अमेरिका, नामिबिया र स्कटल्यान्डले टेस्ट टोलीसँग संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका छन् । आइसिसीले २०२४ देखि २०३१ सम्म हुने आइसिसीका प्रमुख प्रतियोगिता १४ देशमा हुने भएका छन् ।
आइसिसीको प्रमुख प्रतियोगिता रुपमा २०२४ देखि २०३१ सम्म दुई एकदिवसिय विश्वकप, चार टि२० विश्वकप र दुई च्याम्पियन्स ट्रफी हुनेछन् । एसोसियट टोली अमेरिका र नामिबियाले पहिलो पटक विश्वकप आयोजना गर्ने छन् । एसोसियट टोली स्कटल्यान्डसँगै अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, आयरल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बावेमा पनि विश्वकप हुनेछन् । टेस्ट टोली अफगानिस्तानमा भने कुनैपनि प्रतियोगिता हुने छैनन् ।
टि२० विश्वकप २०२४ अमेरिका र वेस्टइन्डिजमा हुनेछ । अमेरिकाले पहिलो पटक विश्वकप आयोजना गर्ने छ । २०२४ देखि टि२० विश्वकपमा २० टोली हुनेछन् । २०२५ मा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना हुनेछ । २०१७ मा इंग्ल्यान्डमा भएको च्याम्पिन्यस ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । त्यसपछि च्याम्पियन्स ट्रफी आइसिसीले हटाएको थियो । च्याम्पियन्स ट्रफीमा आइसिसीका ओडिआई वरीयताका शीर्ष ८ टोलीले प्रतिस्पर्धा गर्ने गर्दछन् ।
२०२६ को टि२० विश्वकप भारत र श्रीलंका मिलेर गर्नेछन् । २०११ को एकदिवसिय विश्वकप भारत, श्रीलंका र बंगलादेशमा भएको थियो । २०२७ को एकदिवसिय विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा हुनेछ । नामिबियाले पहिलो पटक विश्वकप आयोजना गर्न थालेको हो । २०२७ एकदिवसिय विश्वकप देखि १६ टोली हुने गर्दछन् ।
२०२८ को टि२० विश्वकप अष्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्नेछन् । २०१५ को एकदिवसिय विश्वकप पनि न्युजिल्यान्ड र अष्ट्रेलियामा भएको थियो । भारतले २०२९ को च्याम्पियन्स ट्रफी आयोजना गर्ने छ । २०३० को टि२० विश्वकप इंग्ल्यान्ड, आयरल्यान्ड र स्कटल्यान्ड मिलेर गर्नेछन् । २०३१ को एकदिवसिय विश्वकप भारत र बंगलादेशमा हुनेछ । पछिल्लो पटक एकदिवसिय विश्वकप २०१९ मा इंग्ल्यान्डमा भएको थियो । एकदिवसिय विश्वकप २०२३ मा भारतमा हुँदैछ । टि२० विश्वकप २०२२ अष्ट्रेलियामा हुनेछ ।