धनगढी, २८ कार्तिक । क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ। जिल्लामा १३ स्थानीय तह र १२६ वडा रहेका छन्।
शनिबारदेखि कैलालीमा क्षेत्रीय प्रतिनिधि र १ सय २६ वडा समितिका लागि निर्वाचन भइरहेको हो। कांग्रेस जिल्ला कार्यसमिति प्रचारप्रसार समितिका संयोजक नृप सुनारले ९१ मा वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको बताएका छन्।
२५ वडामा शनिबार नै निर्वाचन भएर मत परिणाम आइसकेको उनले बताए। “९१ वडामा सहमति भयो। ३० वडामा निर्वाचन भएकोमा मत परिणाम घोषणा भइसकेको छ”, उनले भने।
उनले गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा मतदान हुन बाँकी रहेको बताए। उक्त वडामा आइतबार बिहान ८ बजेबाट मतदान हुने सुनारले जानकारी दिए। ुहामीले सहमतिको प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि आज बिहानबाट मतदान हुने छु, उनले भने।
यस्तै धनगढीको वडा नम्बर ५ मा अझै मतदान हुन सकेको छैन। त्यहाँ पनि सहमतिको प्रयास भइरहेको सुनारले बताए। कैलालीको मध्यवर्ती क्षेत्र वर्दगोरीया गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको बताउँदै सुनारले क्षेत्रीय प्रतिनिधिमा भने विवाद भएको जानकारी दिए।
जिल्लामा पूर्वकेन्द्रीय सदस्य तथा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेता गंगाबहादुर कुँवर, फकिरसिंह कठायत, जंगबहादुर साउद, बुद्धिसागर चौधरी, पूर्वजिविस सभापति नारायणदत्त मिश्र, कांग्रेस पूर्वजिल्ला सभापति गोविन्द जोशीलगायत निर्विरोध प्रतिनिधि चयन भएका छन्।
“वर्दगोरीमा वडा अधिवेशन सकिएको छ। त्यसको मतगणना पनि सकिएको छ। तर, क्षेत्रीय प्रतिनिधिका लागि ९९ मत खसेकोमा १५ मत बाँकी रहँदा केही व्यक्तिले मतपत्र च्याते। जसले गर्दा विवाद कायम भएको हो। त्यहाँ फेरी क्षेत्रीय प्रतिनिधिका लागि मतदान हुनेछ”, उनले भने।
यस्तै टीकापुर नगरपालिका-१ र लम्की चुहा नगरपालिका-१ को मत परिणाम आउन बाँकी रहेको सुनारले बताए। यी वडाको मत गणना भइरहेकाले परिणाम आउन केही समय लाग्ने जानकारी दिएका छन्।
उनले सबै क्षेत्रमा शान्तिपूर्वक ढंगबाट नै निर्वाचन सम्पन्न भएको बताए। निर्वाचन समितिका सदस्य रामचन्द्र ओझाका अनुसार पनि एक दुई स्थान बाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगमा नै मतदान सकिएको छ।
जिल्लामा पूर्वकेन्द्रीय सदस्य तथा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेता गंगाबहादुर कुँवर, फकिरसिंह कठायत, जंगबहादुर साउद, बुद्धिसागर चौधरी, पूर्वजिविस सभापति नारायणदत्त मिश्र, कांग्रेस पूर्वजिल्ला सभापति गोविन्द जोशीलगायत निर्विरोध प्रतिनिधि चयन भएका छन्।
त्यस्तै जिल्ला सभापतिका दाबेदार घोडाघोडी नगरपालिका १ बाट भीम बडुवाल, धनगढी उपमहानगरपालिका १२ जुगेडाबाट नारायणदत्त भट्ट, गौरीगंगा नगरपालिका ४ बाट प्रकाश बम, कैलारी गाउँपालिका–८ बाट गणेश देउवा निर्विरोध निर्वाचित भइसकेका छन्।
अधिकांशमा युवाको वर्चस्व
यस पटकको वडा अधिवेशनमा अधिकांश वडामा युवा पुस्ताले बाजी मारेको छ। प्रतिनिधिमा पुरानो पुस्ताको वर्चस्व रहे पनि वडा नेतृत्वमा भने युवा पुस्ता आएको छ।
सुनारका अनुसार युवाले संगठनलाई राम्रोसँग हाँक्न सक्ने बताएका छन्। उनले युवाले समयमै पाएको अवसरलाई सदुपयोग गर्दै अगाडि बढ्न सक्ने बताए।
कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ।
कैलाली कांग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।