धनगढी, २७ कार्तिक । नेकपा एमालेको मसिर १० गतेदेखि चितवनमा हुने १० औ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि छानिने भएका छन्।
कैलाली जिल्लामा पनि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढेको छ। प्रतिनिधि छनोटका लागि पाँच वटै निर्वाचन क्षेत्रमा तयारी भइरहेको एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले बताए।
‘१२ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने प्रावधान छ,’ चन्दले भने, ‘सो प्रावधानअनुसार कैलालीमा ३९ जना प्रतिनिधि छनोट गरिनेछ।’
निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना, क्षेत्र नम्बर २ मा ८ जना, क्षेत्र नम्बर ३ मा ५ जना, क्षेत्र नम्बर ४ मा ७ जना र क्षेत्र नम्बर ५ मा ७ जना प्रतिनिधि छनोट गरिने चन्दले बताए।
यस्तै दलित तर्फबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन हुने जिल्ला उपाध्यक्ष चन्दले बताए। उनले जिल्लाभर सहमतिबाट प्रतिनिधि छनोटका लागि छलफल भइरहेको बताए।
