धनगढी, ५ कार्तिक/प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने बताएका छन् । प्रेस युनियन कैलालीले शुक्रवार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले एसिसी पास हुने बताएका हुन् ।
सञ्चारकर्मीको प्रश्नमा देउवाले भने–‘पाउने अनुदानमा अलमल गर्न हुँदैन, तुरुन्तै पास गर्नुपर्छ।’ अन्तरराष्ट्रिय कानुन लाग्ने वल्र्ड बैंक र एडीबीको उदाहरण दिदैं प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुन भन्दा तल हुने भएकाले अनुदान नलिने भन्ने तर्क नै नहुनेमा जोड दिए।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई सञ्चारकर्मीले १४ औं महाधिवेशनबारेसमेत प्रश्न राखेका थिए। उनी त्यो निर्वाचन समितिको काम भएको भन्दै पन्छिए। ‘किन महाधिवेशन अलमल भयो भनेर पार्टीको निर्वाचन समितिलाई सोध्नुस्’ उनले सञ्चारकर्मीलाई भने।
अर्को प्रशंगमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनले भनेमा अर्ली इलेक्सन हुनसक्ने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै यस्तो संकेत गरेका हुन्। ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ’ प्रधानमन्त्री देउवाले भने।
देउवा मन्त्रीहरुको टोली लिएर बिहीवार सुदूरपश्चिम पुगेका थिए। उनीसहितको टोलीले बाढीपहिरो ग्रस्त क्षेत्र निरीक्षणका गरेका थिए। बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका प्रधनमन्त्री देउवा आजै काठमाण्डौं फर्कने कार्यक्रम छ।