काठमाण्डौ ३१ असोज/लामो समयदेखि बन्द रहेको फिल्म हल २१ असोजबाट ९घटस्थापना० देखि खुल्दैछन् । सुरुमा अंग्रेजी फिल्म प्रदर्शन गरेर हल खोल्ने तयारी गरिएको छ । मंगलवार चलचित्र विकास बोर्डले एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै हल खुल्ने र सुरुमा प्रदर्शन हुने नेपाली फिल्मलाई बोर्डले दिने राहतको जानकारी गराएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मलाई राहत प्याकेजको समेत घोषणा गरे । उनले सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शीर्षकमा ७ लाख बराबरको सहयोग बोर्डले गर्न लागेका जानकारी दिए ।‘प्रोजेक्ट लोनको विषयमा विभिन्न निकायसम्म कुराकानी भइरहेको छ’ अध्यक्ष दाहालले भने ‘अहिले छायाँंकनमा जाने फिल्मलाई बोर्डले डेढ लाखसम्मको ‘प्रोजेक्ट विमा’ उपलब्ध गराउने गरेको छ ।’ ठूला फिल्मको लगानी सुरक्षित विषयमा बोर्ड गम्भीर रहेको बताएका दाहालले फिल्म क्षेत्र चलायमान गराउन सबैलाई एकजुट हुन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले नयाँ चलचित्र रिलिज र निर्मातालाई राहतको बिषयमा आफ्नो धारण राखेका थिए ।