धनगढी, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाष्टमीको दिन बुधबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।
पाँचखाल नगरपालिका ९ पलाञ्चोकस्थित भगवती मन्दिरमा राष्ट्रपति भण्डारीले बुधबार बिहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्।
राष्ट्रपति भएपछि उनले यो मन्दिरमा पूजाअर्चना गरेको तेस्रोपटक हो। गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने पूजाआजा रोकिएको थियो।
राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ।यस मन्दिरमा विशेष गरी दशैँ, माघे सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ।
