ऐजेन्सी: बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।
बप्पी लहिरीलाई सधैं नै एउटै स्टाइलका कपडा तथा सुनको सिक्रि लगाएको देख्न पाइन्छ । बप्पी लहरीले आफ्नो हुलियो कोबाट प्रभावित भएर बनाएका होलान् रु यो जिज्ञासामा उनको जवाफ छ(‘मेरो आदर्श व्यक्ति हलिउडका गायक एल्विस प्रेस्ली हुन् । उनी पनि सुनका सौखिन थिएँ । हातमा ब्रास, घाँटीमा ठूलो क्रम भएको सिक्री आदि लगाउँथे । म जब फिल्म क्षेत्रमा आएँ, त्यहि बेला मलाई मेरी आमाले पहिलो पटक सुनका सिक्री उपहार दिइन् । त्यसपछि मेरी श्रीमतीले गणेशको प्रतिमासहितको सिक्री बनाइदिइन् । त्यही दिनदेखि मैले सुनलाई भाग्यशाली मान्न थालें । सुनकै कारण विश्वभरी नै मेरो एउटै इमेज स्थापित भयो ।’
आफ्नो शरीरमा लगाइएका गहनाहरु प्रति बप्पी लाहिरीको भनाइ छ(‘यदि तपाईंले ध्यान दिएर मेरो सिक्रीमा हेर्नु भयो भने त्यसमा तपाईंले गणेशजी देख्नु हुनेछ । त्यसलाई पल्टाउनु भयो भने अल्लाह देखिने छने । यदि तपाईंले मेरो दोस्रो सिक्री हेर्नु भयो त्यसमा कृष्णलाई देख्नु हुनेछ, त्यही सिक्रीलाई पल्टाउनु भयो भने जिसस पनि देखिने छन् । म त हरेक धर्मलाई इज्जत गर्छु । यीनिहरुलाई म ईश्वरको आशीर्वाद सम्झेर घाँटीमा झुण्ड्याएर हिँड्छु । म जातले ब्राम्हण हुँ । तर म हरेक धर्मलाई उत्तिकै सम्मान गर्छु । जन्मले नै म हिन्दु हुँ, त्यसैले हिन्दुत्व मेरो धर्म हो । तर म अन्य धर्मलाई अपमान गर्दिन । म हरेक व्यक्तिलाई के भनिरहेको हुन्छु भने तपाईं आफ्नो धर्म मान्नु होस्, तर अर्को धर्मलाई कहिले पनि अपमान नगर्नु होस् ।’
बलिउडमा बप्पी लहिरीको छवि ‘गोल्ड म्यान’ को छ । उनी भन्छन्‘मैले प्राय ठाउँहरुमा भनिसकेको छु–बप्पी लहिरी इज गोल्ड म्यान । मेरो लागि सुन भाग्यशाली छ । मैले जहिलेदेखि सुन लगाउन थालें, त्यही दिनदेखि मेरा एकपछि अर्को गदै सबै गीतहरु लोकप्रिय हुन थालें ।’यति मात्र होइन, बप्पी लहिरी आफ्ना सुनका गहनाहरु अरु कसैलाई पनि दिंदैनन् । उनी भन्छन्‘मैले घाँटीमा जुन सिक्री लगाइरहेको छु, यो त म कसैलाई दिंदै दिन्न, किनभने म यिनीहरुलाई आफ्नो रक्षक मान्छु, यीनकै आशीर्वादले म अघि बढिरहेको छु ।’
बलिउडका थुप्रै वटा फिल्महरुमा केही कलाकारहरुले उनको जस्तै रुप धारण गरेर कमेडी प्रस्तुत गरिसकेका छन् । त्यस प्रकारको नक्कल तथा कमेडी बप्पी लहिरीलाई भने मन परेको रहेनछ । फलस्वरुप, बाध्य भएर उनले आफ्नो लूकमै कपिराइट लगाइदिएका रहेछन् ।