काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका कोही पनि सहभागी भएक छैनन् ।
एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको जनाएको छ । संसदको गतिरोध अत्यको उपाय खोज्न डाकिएको बैठकमा सहभागी नहुने जानकारी एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिनुभएको छ ।
एमालेले राखेका माग सम्वोधन नभएकोले आजको बैठकमा एमाले सहभागि नहुने उहाँले बताउनुभयो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असहमति रहेको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा वैठकमा सहभागी छन् ।
वैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि बोलाइएको छ ।