धनगढी, ६ असोज । व्यावसायी दुर्गाप्रसाद प्रसाईंले धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका छन्। मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बी एण्ड सीका सञ्चालक समेत रहेका प्रसाईंले यो कुरा बताएका हुन् ।
धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छु भन्ने, यो क्षेत्रका साथीहरुको प्रस्ताव आएपछि अस्पतालको संम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताए।
झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाण्डौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए।
झापामा सञ्चालनमा रहेको बी एण्ड सी अस्पताल दक्षिण पूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल भएकोले यो क्षेत्रका बिरामीको उपचारका लागि पनि आफ्नो अस्पताल भरपर्दो गन्तव्य हुने उनले दाबी गरे। यसका साथै सुदूरपश्चिमका बिरामीहरूको उपचार खर्चमा २० प्रतिशत बी एण्ड सीमा छुट दिने बताए।
अस्पतालसँगै होटेल क्षेत्रमा पनि आफ्नो लगानी र अनुभव भएकोले अस्पताल सञ्चालनका लागि यो क्षेत्रको सकारात्मक सहयोग र सद्भाव प्राप्त भए अन्य क्षेत्रमा पनि लगानी गर्न आफू तयार रहेको उनको भनाइ थियो। अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए।
काम गर्ने र लगानी गर्ने वातावरण निर्माण भए ठूलो संख्यामा विदेशीने युवालाई रोक्न सकिने भएपनि लगानी मैत्री वातावरण बन्न नसक्दा युवा पलायन भइरहेको प्रसाईंले बताए।
सुदूरपश्चिममा अस्पताल निर्माण र सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न प्रसाईंले सबैमा अनुरोध गरेका छन्।
