काठमाडौँ, ३१ भदौ । एमाले अध्यक्ष केपी ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको तर शक्ति कम नभएको दाबी गरेका छन् । उनले एमालेको संगठनमा पनि केही फेरबदल नआएको बताए ।
नेकपा एमाले काठमाडौँले गरेको कार्यक्रममा बिहीबार ओलीले भने, ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो, तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठ्यो । र, पार्टी भत्काउन दिँदैनौँ । मास्न दिँदैनौँ भनेर रक्षामा उभियो । र, आज पार्टी ज्युँकात्युँ जस्ताको त्यस्तै खडा हुन सफल भयो ।
नेकपा एमालेको भूमिका परिवर्तन भयो तर शक्ति परिवर्तन भएको छैन । हाम्रो उद्देश्य परिवर्तन भएको छैन । नीतिहरु परिवर्तन भएको छैन । हाम्रो संगठनमा पनि केही परिवर्तन भएको छैन । दुई चार (नराम्रो नभन्नु है भन्छन् सबैले फेरि) सडेका तत्वहरु, बिग्रेका तत्वहरु पार्टीबाट गएभन्दा गाली गरेको जस्तो हुन्छ ।
बिग्रन बिग्रन खोजेका भनौँ कि क्या हो रु भयो त्यति । पार्टी जहाँको त्यही छ ।’ अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गरे । उनले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताए ।