काठमाडौं, १६ भदौ । कक्षा १२ को परीक्षा आगामी भदौ अन्तिम साताभित्र गर्ने तयारी थालिएको छ । त्यसका लागि सरकारसँग सहमति लिने क्रममा आफूहरु रहेको राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अन्नपूर्णलाई जानकारी दिए ।
उनले भने, ‘हामी परीक्षा सञ्चालन सन्दर्भमा सहमति लिने क्रममा छौं । बोर्डले छिट्टै निर्णय गरेर परीक्षा तालिका सार्वजनिक गर्छ ।’ बोर्डले यसअघि विज्ञप्ति निकाल्दै परीक्षा हुनु १५ दिन अगाडि सार्वजनिक सूचना जारी गर्ने जनाएको थियो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भदौ अन्तिम या असोज पहिलो साताबाट सञ्चालन गर्न सकिने जनाएको थियो । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको बताएका थिए । जापानबाट प्राप्त भएको १६ लाख मात्रा एष्ट्रेजेनेका खोपमध्ये विद्यार्थीलाई पनि उपलब्ध गराइएको छ ।
पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका संसदीय समितिका सदस्य गिरीराजमणि पोखरेलले यथाशीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताएका थिए । समिति सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना र खोप उपलब्ध गराएर यथाशीघ्र परीक्षा गराउन सरकारलाई निर्देशन दिएकी थिइन् ।
कक्षा १२ को परीक्षा साउन ३१ देखि निर्धारण गरिएपनि कोरोना संक्रमण जोखिमलाई मध्येनजर गर्दै स्थगित गरिएको थियो । परीक्षाको समयतालिका नतोकिदा विद्यार्थीहरु मारमा परेका छन् ।कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले ४ हजार तीन सय १० परीक्षा केन्द्र निर्धारण गरेको थियो ।