दार्चुला, १५ भदौ । दार्चुलामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।आइतबार राति आएको बाढी पहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमति कौशा महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले बताए ।
यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता छन । दुहुँ ३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम, धीरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जितबहादुर बमको होटल तथा पसल बगाएको छ ।
अहिले घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् । बाटो घाटो नहुँदा उद्दार कार्यमा ढिला भएको महाकाली नगर पालिकाका नगर प्रमुख हशंराज भट्टले बताए । यो क्षेत्रमा तुइन लगाएर भए पनि समान सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो
दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी पुगाईएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो ।
दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षकभ मनोहर भट्टले जानकारी दिए । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् ।
बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।
उद्धारमा सहयोग गर्न मन्त्रीको निर्देशन
दार्चुलामा अविरल बर्षापछि आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धारमा सहयोग गर्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिएकी छिन् ।
गएराति जिल्लाका विभिन्न स्थानमा बर्षाका कारण बाढी र पहिरोले धनजनको क्षति भएपछि मन्त्री जोशीले उद्धार, खोज, राहत र पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन र स्थानीय सरकारलाई सहयोग गर्न निर्देशन दिएकी हुन् ।
‘अविरल बर्षाको कारण दार्चुला जिल्लामा भएको मानवीय र भौतिक क्षतिले अत्यन्तै दुखित तुल्याएको छ’, उनले भनिन्, ‘उद्धार, खोज, राहत, पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन, स्थानीय सरकारलाई सहयोग गरी वास्तविक पीडितलाई सहयोग गरिदिन अपिल गर्दछु ।’ साथै उनले प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेकोसमेत बताइन् ।
जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । यकिन विवरण नआएको बताउँदै उनले दुईजना वेपत्ता र एकजनाको मृत्यु भएको भन्ने जानकारी आएको बताए । घटनास्थलमा अहिले सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय र सरोकारवाला निकायको टोली खटिएर उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
घाइते दुई जनाको सेती अस्पतालमा उपचार हुदैं
दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । सोमबार साँझ हेलिकप्टर मार्फत धनगढी ल्याईएका जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार हुन थालेको हो ।
उनीहरुको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याईएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् । मन्त्री जोशीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पतालाई निर्देशन दिएकी छिन् ।