धनगढी, ८ भदौ । एमाले उपाध्यक्ष भीम रावल झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका छन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका रावल ६ महिनासम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । तर आज बोलाइएको बैठकमा भने उनी सहभागी भएका हुन्।
बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी भएका छन् । अध्यक्ष ओलीले स्थायी कमिटी सदस्यमा नियुक्त गरेका पूर्वमाओवादी नेता लेखराज भट्ट पनि बैठकमा सहभागी भएका हुन् । रावल र भट्ट नेकपा एमालेको बैठकमा संगै सहभागी भएको यो पहिलो हो ।
विगतमा भीम रावल एमाले सुदूरपश्चिमको इञ्चार्ज थिए भने माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट थिए । दुई पार्टीबीच एकिकरण भएपछि नेकपा सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी रावलले नै पाएका थिए । प्रदेश समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा भट्टलाई बोलाउने गरिएको थियो। त्यो समयमा दुबै नेताबीत सम्बन्ध राम्रै थियो।
नेकपामा हुँदा रावल ओलीको चर्को विरोध गर्न थाले भने ओली क्याबिनेटमा मन्त्री पाएपछि भट्ट पुष्पकमल दाहाल प्रचण्डबाट टाढिएर ओली नजिक भए। त्यसपछि रावल र भट्टबीच पनि दूरी बढ्यो।
संसद विघटनपछि भट्टले ओलीलाई साथ दिए भने रावलले प्रचण्ड र माधवकुमार नेपाललाई साथ दिए। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पनि भट्ट माओवादी केन्द्रमा गएनन्। उनलाई एमाले स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इञ्चार्ज बनाइयो।
रावलले भने माधव समूहमा रहेर ओलीको चर्को विरोध जारी राखे। तर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तीपछि रावलले पनि नेपाललाई साथ दिएनन्। उनले सयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै एमाले विभाजनको विरोध गरे।
ओलीले १० बुँदे सहमति कार्यान्वयनका गर्ने बताएपछि उनी आज स्थायी कमिटीको बैठकमा सहभागी भएका हुन्। रावल र भट्ट एमालेमै रहने भएपछि अब ओलीले सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी कसलाई दिन्छन् ? भन्ने चाँसो बढेको छ।