काठमाडौँ,३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिइसकेको बताएका छन्। विद्रोही समूह तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएको छ।
आइतबार बिहानैदेखि काबुलतर्फ बढेका तालिबान लडाकुले साँझ राष्ट्रपतिको कार्यालय नियन्त्रणमा लिएका थिए। अहिले विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालेका छन्।
नेपाली नागरिकलाई पनि उद्धार गर्न निर्देशन दिएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन्। प्रधानमन्त्री देउवाले भनेका छन्, “अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु।”
अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने दायित्व सरकारको भएको समेत देउवाले उल्लेख गरेका छन्। त्यो जिम्मेवारी पूरा गर्ने उनले बताएका छन्।
“सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो। सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।” उनले भनेका छन् ।