डोटी, १९ साउन । डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ । रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो ।
आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना गरिएको रानीवन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर भट्टले बताए ।
संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा, भाँडाकुँडा, गरगहना, वाद्यवादन सामग्री, भेषभूषा झल्काउने सामग्रीको खोजी गरेर राखेको भट्टले जानकारी दिए ।संग्रहालयमा राख्नका लागि स्थानीयले आफूसँग रहेका पुराना वस्तुहरु सुरक्षित साथ राख्न दिएका छन् ।
आफ्नो कला संस्कृतिको जगेर्ना होस् भन्ने उद्देश्यले आफ्नो घरमा पुर्खाले प्रयोग गरेका पुराना सामग्री संग्रहालयलाई प्रदान गरेको स्थानीयबासी रामचन्द्र्र भट्टले बताए । लोप हुन लागेको परम्परागत रूपमा प्रयोग हुने सामग्री र संस्कृतिलाई जगेर्ना होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा संग्रहालय स्थापना गरिएको डोटीका डिभिजन वन अधिकृत शम्भुप्रसाद तिवारीले बताए । डिभिजन वन कार्यालयको चार लाख र रानीवन सामुदायिक वन उपभोक्ता समितिको ४० हजारको लागतमा संग्रहालयको स्थापना गरिएको हो ।