धनगढी, १७ साउन । कर्णाली नदीमा काठको डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन । बालकको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।
कर्णाली नदीमा आइतबार मध्याह्न १२ बजे काठको डुङ्गा पल्टिँदा एक नाबालकसहित तीन जना बेपत्ता भएका छन । कैलालीको मोहन्याल गाउँपालिका(३ रागा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका– ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेका बेला दुर्घटना भएको हो ।
डुङ्गा पल्टिँदा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन ।
प्रहरीका अनुसार डुङ्गामा १० जना सवार थिए । त्यसमध्ये पाँच जना पौडिएर जोगिएका छन । घटना स्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन । नदीको बहाव उच्च भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।