धनगढी, ५ साउन/ अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए।
डुबान खोल्नका लागि गएको प्रशासनमाथि धनगढी २ का स्थानीयले ढुंगामुढा गरी अवरोध गरेपछि झडपको अबस्था सृजना भएको हो ।
स्थानीयको अवरोधपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। यसपछि भीड झन् आक्रोशित भएको थियो। यसपछि स्थानीयले ढुंगामुढा गर्दा १० प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना सशस्त्र र ४ जना नेपाल प्रहरी घाइते भएका हुन्। उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए। सो क्रममा केही स्थानीय र प्रहरी घाइते भएको जनाइएको छ।
सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए। भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो। यसअघि भएको डुबानका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा क्षति पुगेको छ। वडा नम्बर २ का वासिन्दाले दुबै वडामा डुबान नहुने गरि समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्।