एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब चेल्सी तथा स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डच स्टार आर्जेन रोबेनले व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।उनले ३७ वर्षको उमेरमा २१ वर्षे व्यवसायिक खेल जीवनलाई बिट मारेका हुन् । उनले व्यवसायिक खेल करियरमा ७०५ खेल खेल्दै २४६ गोल तथा १९३ असिस्ट दिएका छन् ।रोबेन पछिल्लो समय आफ्नो बाल्यकालको डच क्लब ग्रोनिङएनमा आबद्ध भएका थिए ।
सन् २०१९ मै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिएपनि सन्न्यास फिर्ता लिदै रोबेन आफ्नो पुर्व क्लब ग्रोनिङएनमा आबद्ध भएका थिए । तर चोटका कारण उनले विरलै अवसर पाए । उनले गत सिजन ७ खेल मात्रै खेलेका थिए । क्लबले उनको सम्झौता अझै एक सिजन थप्ने योजना बनाएपनि रोबेनले चोटका कारण नखेल्ने निर्णय गरेका हुन् ।
रोबेन तीव्र गतिमा कुद्दै विपक्षीलाई छलाउन र गोल गर्न माहिर मानिन्छन् । रोबेनले बायर्नमा झन्डै १० वर्ष बिताउँदा ३०९ खेलमा १४४ गोल गर्नुका साथै १०१ असिस्ट दिएका थिए । उनले सन् २००९ देखि २०१९ मा बायर्नमा रहँदा एक च्याम्पियन्स लिग, एक युइएफए सुपरकपसँगै ८ जर्मन बुन्डेसलिगा र समान ५ पटक जर्मन कप र डिएफएल सुपरकपको उपाधि जितेका थिए ।
चेल्सीबाट दुईपटक प्रिमियर लिग, दुईपटक फुटबल लिग कप र समान एकपटक एफए कप र कम्युनिटी शिल्ड जित्न सफल भएका थिए । यस्तै रियलबाट ला लिगा र सुपरकोपा तथा पीएसभीबाट डच लिग र योहान क्रुएप शिल्ड जित्न सफल भएका थिए । रोबेनले डच क्लब ग्रोनिङएनबाट व्यवसायिक खेल करियर शुरु गरेका थिए । उनले ग्रोनिङएनमा २००२ देखि २००२ सम्म खेले ।
त्यसपछि उनले पीएसभीमा २००४ सम्म खेल्दै इंग्लिस क्लब चेल्सीमा पुगेका थिए । सन् २००४ देखि २००७ मा चेल्सीमा बिताएका रोवेनले २००९ सम्म स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए । त्यसपछि उनले लामो समय जर्मन क्लब बायर्नमा बिताएका थिए ।नेदरल्यान्ड्स विश्वकप २०१८ मा छनोट हुन नसकेपछि रोबेनले २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । उनले नेदरल्यान्ड्सबाट ९६ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।