काठमाण्डौ – युरोपेली देशहरूमा कोरोना भाइरसको सङ्क्रमणमा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले झन्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीवार जानकारी दिएको हो । डब्ल्यूएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सबै तत्काल सतर्क हुनुपर्ने सङ्गठनको जोड छ ।
‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुन सक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरूप्रति सबै सतर्क हुनुपर्दछ’ , सङ्गठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भन्नुभयो । उहाँले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो ।उहाँले युरोपेली देशहरूमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा स्यानिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गर्नरगराउन पनि आग्रह गर्नुभयो ।नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उहाँले बताउनुभयो ।
उहाँले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘खोपले डेल्टा भेरियन्टको कोरोना भाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ ।’युरोपेली देशहरूमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्याङ्क पनि सङ्गठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको थियो ।