धनगढी, १६ असार/ डोटीको जोरायल गाउँपालिकामा कार्यरत एकजना कर्मचारीले नै गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।गाउँपालिकाको शिक्षा शाखामा कार्यरत खेलकुद प्रशिक्षक पवन शाहुले गाउँपालिकाको शिक्षा शाखामा भ्रष्टाचार भएको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनका स्टाटस र कमेन्टका स्क्रिनसटहरु यतिबेला फेसबुकमा भाईरल छन् ।
उनले ती स्टाटस र कमेन्टहरुमा विभिन्न समयमा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका शिक्षा शाखाका प्रमुख विद्यालय निरीक्षक तेजबहादुर खत्री र स्रोतव्यक्ती सिद्धराज जोशीमाथि भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
उनले एउटा स्टाटसको कमेन्टमा ‘विद्यार्थी खेलाडीलाई अवसरबाट बञ्चित गरी कमिशनको भाईरस सिद्धराज जोशीले धनगढीको होटलमा चारदिन सुतेर गुणस्तरहिन कम मूल्यका खेलकुद सामाग्री किनेर बाँडेको थाहा भयो । विद्यालयमा सोध्दा कुनै काम नलाग्ने खाले कमसल सामानमा १३ लाख शिक्षा अधिकृत र आरपी९स्रोतव्यक्ती०ले कुम्ल्याङ पा–यो ।’ भनेर आरोप लगाएका छन् । त्यही कमेन्टमा उनले अझै थुप्रै कुराको लेखेका छन् ।
यस्तै उनले विभिन्न स्टाटसहरु लेखेर दुबैजनाले भ्रष्टाचार तथा अनियमितता गरेको, कमिशन खाने गरेको कुरालाइ उल्लेख गरेका छन् ।उता विद्यालय निरीक्षक खत्रीले आफुमाथि लागेको आरोप निराधार रहेको बताए । ‘त्यो २०७५९आर्थिक वर्ष २०७५÷०७६०को बजेटको तीन लाखको सामान खरिद गरेर ११ वटा विद्यालयलाई दिएका छौ,’ उनले भने,‘भ्रष्टाचार पुष्टी हुने कुनै काम गरेका छैनौ ।’
उनले उल्टै खेलकुद प्रशिक्षक साहुलाई कर्मचारी भएरपनि तोकिएको जिम्मेवारी बहन नगरेको आरोप लगाए । ‘तिनि पावर र पहुँचको भरमा जागिर खाने मान्छे हुन् । मेरै शाखामा काम गर्छन् तर आउदैनन,’ उनले भने, ‘खेल प्रशिक्षक भन्छन् । एउटा विद्यालयमा नगईकन, एकदिन ड्रेस नलाईकन । जागिरअवधिमा टेन टु फोर चारपाँच दिनपनि काम नगरिकन दादागिरीमा जागिर खाएको मान्छे हो ।’
स्रोतब्यक्ती जोशीले व्यक्तीगत रिसिबीका कारण उनले त्यो स्टाटस लेखेको दाबी गरे । उनले भने,‘आफुले पाउनुपर्ने बजेटमा कमीकमजोरी भयो होला । तब लेखेका हुन् ।’ आफुले कुनै कमीकमजोरी नगरेको उनले दाबी गरे ।