धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई कारबाही गर्न माग गरिएको छ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलमाथि केही दिनअघि मन्त्रालयमा दुर्व्यवहार गरेको भन्दै नेकपा एमाले कञ्चनपुरले मन्त्री सोडारीमाथि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाउन माग गरेको हो।
शनिबार नेकपा एमाले कञ्चनपुरका अध्यक्ष बीरबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको निर्देशन सहितको पत्र बुझाउन गएको बेला आफ्नै कार्यकक्षमा मन्त्री सोडारीले एमाले प्रदेश कमिटीका सचिव रावलमाथि गरिएको दुर्व्यवहार भर्त्सना योग्य र निन्दनीय रहेको उल्लेख छ।
मन्त्री सोडारीलाई कारबाहीको लागि मुद्दा दर्ता गरिसक्दा पनि कारबाही गर्नुको सट्टा उल्टै मन्त्रीको तर्फबाट समेत उजुरी लिएर मुद्दा कमजोर गर्ने कैलाली प्रशासनको कार्य प्रति आपत्ति जनाउँदै तत्काल कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरिएको छ।
