धनगढी: धनगढीका व्यवसायी हुकुम शाहको जीप दुर्घटनामा मृत्यु भएको छ । धनगढीको राजपुरमा रहेको शाह पोल्ट्री फार्मका सञ्चालक शाहको डोटीमा भएको जीप दुर्घटना मृत्यु भएको हो । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण नजिकै बिहान ४ बजेको समयमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । शाहको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा घर छ । दुर्घटनामा उनकी भतिजी २६ बर्षिया देवी कुमारी शाह घाइते भएकी छिन् ।
दुबै जना दुर्घटनामा घाइते भएपछि उपचारको लागि शैलेश्वरी अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याएको केहि समयमै जीप चालकसमेत रहेका शाहको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते देवी शाहको अहिले उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । धनगढीबाट बाजुराको लागि कुखुराको चल्ला बोकेर गइरहेको सु।प्र।प ०१०० च २६१५ नम्बरको जीप १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए ।