धनगढी: कैलालीका नारदमुनी राना कामचलाउ सरकारको वन मन्त्री बनेका छन् । ०७४ को चुनाव जितेपछि केपी ओलीले पहिलोपटक रानालाई मन्त्री बनाएका हुन् । राना मन्त्री बनेसँगै काँग्रेस नेतृ तथा शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा नाम चर्चामा आएको छ ।
रानाले देउवा पत्नी आरजुलाई कैलाली–५ बाट चुनाब हराएका थिए । आरजुले चुनाव हारिसकेपछि सुदूरपश्चिमका रानालाई मन्त्री बनाउन पहल गर्ने आश्वासन दिएकी थिइन् ।
आरजुले २०७४ मंसिर २५ मा धनगढीमा पत्रकार सम्मेलन गरी आरजुले भनेका थिइन्, ‘मलाई एमालेका नारदमुनि रानाजीले पराजित गरेको भए पनि यो क्षेत्रको विकासका लागि उहाँलाई मन्त्री बनाउन म पहल गर्छु ।’ सुदूरपश्चिमका नेता मन्त्री बनेकोमा पक्कै पनि काँग्रेस नेतृ आरजु खुशी भएको हुनुपर्छ । निषेधाज्ञा अगाडि नै जापान गएकी आरजु अन्तरराष्ट्रिय उडान बन्द भएका कारण अहिलेसम्म जापानमै रोकिएकी छिन् । त्यसो त रानालाई मन्त्री बन्न नदिन र आफैं पुनः मन्त्री बन्नका लागि निवर्तमान वनमन्त्री प्रेमबहादुर आलेले प्रयास गरेका थिए । त्यसो त नारदमुनी रानामाथि पहिलो संविधान सभामा सभासद रहेका बेला रातो पासपोर्ट बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।
आफ्नो रातो पासपोर्ट निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा उनीमाथि मुद्दा चलेको थियो । विषेश अदालतबाट सफाई पाएका रानाविरुद्धको मुद्धा अहिले सर्वच्चोमा विचाराधिन छ ।