धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्यलाई पुनः तिव्रता दिएका छ्न । ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेका छ्न । आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा एमाले बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेका एमाले नेताहरुले बताउछ्न । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।
नारदमुनी रानाको पनि मन्त्री हुने चर्चा छ । उनी कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमाले भित्र शुरुदेखि नै छ । तर उनले अहिलेसम्म अवसर प्राप्त गरेका छैनन ।
सम्भवतः भोली शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित् हुने बुझाई एमाले नेताहरुको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाई छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सुचीकरण गरिसकेको छ ।
