धनगढी: हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मी कुटेका छन् । दिनहुँ आफ्नी पत्नीको उपचार गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् ।
हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् । रोकायाकी पत्नी कोरोना संक्रमित भएपछि होम आइसोलेनसमा छिन् । होम आइसोलेसनमा रहेकी पत्नीको उपचारका लागि दैनिक नआएको भन्दै रोकायाले स्वास्थ्यकर्मी बुढामाथि कुटपिट गरेका हुन् ।
उनले कुटपिट मात्रै होइन, स्वास्थ्यकर्मी बुढाको शरीरमा आगो लगाउने प्रयाससमेत गरेको स्थानीयले बताएका छन् । शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढाको शरीरमा आगो लगाउन स्प्रे पनि छरेको स्थानीयले आरोप छ । स्थानीयका अनुसार उनलाई नजिकै रहेका अरु स्थानीयले रोकेका थिए ।
घटनाबारे जानकारी आएको र थप अनुसन्धान गरी आवश्यक कारबाहीको लागि प्रहरीलाई निर्देशन दिइसकिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
यसअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा मृत्तकका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गरेको घटना बाहिरीएको थियो । सरकारले अध्यादेशमार्फत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई चार वर्षसम्म कैद सजाय हुने कानुन ल्याउने तयारी गरिरहेको छ ।
