काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र अहिले एकले अर्कालाई स्पष्टीकरण सोध्ने होडबाजी चलेको छ । एकअर्कालाई चितबुझ्दो जवाफ नदिएमा कारबाही गरिने चेतावनीयुक्त स्पष्टीकरण सोधिए पनि कसैले कसैको जवाफ दिएका छैनन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग शनिबार पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि तीन दिनको समय दिएर ठाकुरले यादवसँग स्पष्टीकरण सोधेका थिए । तर यादवले जवाफ पेस नगरेपछि ठाकुरले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्रमा जवाफ पेस पुनः स्पष्टीकरण सोधेका छन् ।
यस्तै यादवले शनिबार नै अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग स्पष्टीकरण सोधेका छन् । यसअघि तीन दिनभित्रमा जवाफ पेस गर्नु भन्दै यादवले यी चारै जना नेतासँग स्पष्टीकरण सोधेका थिए । शुक्रबारभित्रमा जवाफ पेस गर्नुपर्ने भए पनि कसैले जवाफ नदिएपछि यादवले पुनः स्पष्टीकरण सोधेका छन् । ठाकुर जस्तै यादवले समेत २४ घण्टाको समय दिएका छन् ।
‘तपार्इंसँग स्पष्टीकरण लिई तपाईंलाई सफाइको मौका दिन तपाईंलाई कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकोमा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकाले दोस्रोपटक पुनः योपत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चितबुझ्दो स्पष्टीकरण लिई आउन हुन अनुरोध छ,’ ठाकुरले यादवलाई सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त गरेको म्यादभित्र चित बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान–२०७७ बमोजिम निष्कासनसमेतको कारबाही हुनेछ ।’
यसैगरी, यादवको तर्फबाट केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले ठाकुर, महतो, कर्ण र शुक्लसँग समेत दोस्रोपटक स्पष्टीकरण सोधेका छन् । ठाकुरले सोधेकै बेहोरासहितको कारबाही गर्ने चेतावनी यादव समूहले समेत दिएको छ । चारै जना नेतालाई स्पष्टीकरण सोध्दै २४ घण्टाभित्रमा जवाफ पेस नगरिए कारबाही गरिने चेतावनी दिइएको छ ।
सरकार निर्माणका विषयमा जसपाभित्र विवाद चर्किंदै गएपछि शीर्ष नेता दुई धु्रवमा विभाजित भएका छन् । ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । तर, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र यादव समूह विपक्षी गठबन्धन बनाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेका छन् ।
पार्टीभित्रको विवाद चर्किंदै गएपछि एकअर्कालाई सोधिएको स्पष्टीकरणको जवाफ कसैले दिइरहेका छैनन् । सरकारमा सहभागी हुने विषयमा पार्टीभित्रका शीर्ष नेताहरूको मत विभाजित रहेको छ । सोही कारण दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि एकले अर्कोलाई स्पष्टीकरण सोध्ने क्रम पनि सुरु भएको हो । स्पष्टीकरण सोध्दै एकले अर्कोलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् ।
पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही पूरा गर्ने क्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा ठाकुर र महतो समूह रहेका छन् । पार्टी निर्णय विपरीत देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको लगायतका आरोप ठाकुर समूहले यादव समूहमाथि लगाउँदै आएको छ ।
तर डा. भट्टराई, अध्यक्ष यादव समूहले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले ओलीसँग सहकार्य नहुने निष्कर्ष यादव समूहको रहेको छ । यादव समूहले पार्टीको निर्णय र नीतिविपरीत प्रधानमन्त्री ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप ठाकुर समूहमाथि लगाउँदै आएको छ ।