एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल टेष्ट विकेटकिपर ब्याट्सम्यान बिजे वाटलिङले आगमी जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट च्याम्पियनशिप फाइनलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारत र न्युजिल्यान्डबीच जुन १८ देखि २२ सम्म साउथह्याप्टमा हुने छ । ३५ वर्षिय वाटलिङ न्युजिल्यान्डका सर्वाधिक टेष्ट विकेटकिपर हुन् । उनले न्युजिल्यान्डबाट ७३ टेष्ट खेलमा ८ शतक र १५ अर्धशतक सहित ३ हजार ७ सय ७३ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ५ रन छ । दुई वर्षअघि इंग्ल्यान्डविरुद्ध उक्त २ सय ५ रनको इनिङ खेल्दै न्युजिल्यान्डबाट टेष्ट क्रिकेटमा विकेटकिपरको रुपमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।
वाटलिङ न्युजिल्यान्डबाट टेष्ट क्रिकेटमा सर्वाधिक ब्यक्तिगत रन बनाउने खेलाडी हुन् । एकै इनिङमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने विकेटकिपर समेत हुन् । वाटलिङले २ सय ४९ क्याच आउट र ८ स्टम्पिङ गरेका छन् । वाटलिङले सन् २००९ मा दुबईमा पाकिस्तानविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । वाटलिङले २८ ओडिआई र ५ टि२० आई खेल खेलेका छन् । विश्व टेष्ट च्याम्पियनशिपको लागि भारतले विराट कोहलीको कप्तानीमा आफ्नो टोली घोषणा गरि सकेको छ । न्युजिल्यान्डले घोषणा गर्न बाँकी छ । दुई वर्ष सम्म चलेको टेष्ट च्याम्पियनशिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।
