रुकुम पश्चिम — यो वर्ष पनि यार्चा संकलनका लागि डोल्पाका पाटनहरू नखुल्ने भएका छन् । गत वर्ष पनि कोरोना महामारीका कारण यार्चा संकलनमा प्रतिबन्ध लगाइएको थियो । कोरोना संक्रमणको दर बढेको भन्दै यो वर्ष पनि यार्चा संकलनका लागि पाटन नखोल्ने निर्णय गरिएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कुनै पनि पाटन खुला नगर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै वैशाख १७ गतेको निर्णय पनि स्वतः खारेज भएको छ । वैशाख १७ गतेको सर्वदलीय र सर्वपक्षीय बैठकले जेठ १० गतेदेखि यार्चा संकलनका लागि पाटनहरू खुला गर्ने निर्णय गरेको थियो । त्यसका लागि सुरक्षा सतर्कता र सुरक्षित व्यवहार अपनाउनुपर्ने सरोकारवालाको सयुंक्त बैठकले निर्णय गरेको थियो ।
पछिल्लो समय कोरोना संक्रमित बढेकाले यो वर्ष पनि यार्चा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए । ‘महामारीको संक्रमण थेग्न सक्ने अवस्था भएन,’ उनले भने, ‘यो निर्णयसँगै केही दिनअघिको सर्वपक्षीय र सर्वदलीय बैठकको निर्णय खारेज भएको छ ।’
अवस्था सामान्य हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी यार्चा संकलन गर्न सकिन्छ कि भन्ने अनुमान भए पनि अब भने त्यो सम्भव नभएको उनले बताए । यार्चा संकलनका लागि पाटन खुला गर्ने निर्णय भएपछि डोल्पाका स्थानीय उत्साही भएका थिए । जिल्लाका अधिकांश गाउँका बासिन्दाले वर्षभरिको खर्चको जोहो यार्चा संकलनकै रकमबाट गर्दै आएका छन् ।
गत वर्ष यार्चा टिप्न नपाइएका कारण अधिकांश बासिन्दालाई जीविकोपार्जनमा समस्या भएपछि सरोकारवाला निकायको संयुक्त बैठकले पाटन खुला गर्ने निर्णय गरेको थियो ।