इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थान रहेको लेस्टर सिटी आफ्नै मैदानमा पराजित भएको छ। गएराति भएको खेलमा लेस्टर घरेलु मैदानमा पराजित भएको हो।
घरेलु मैदानमा लज्जास्पद हार व्यहोर्ने क्रममा लेस्टर न्युकासल युनाइटेडसँग ४–२ गोल अन्तरले पराजित भयो। उपाधि होडबाट बाहिरिइसकेको लेस्टर पराजित भएपनि अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ।
लेस्टरको मैदानमा न्युकासलले २२औँ मिनेटमा जोसेफ विलओकको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो। ३४औँ मिनेटमा पौल डुमेटले गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसपछि, दोस्रो हाफमा न्युकासलका लागि कलुम विलसनले २ गोल गरेका थिए। उनले ६४औँ र ७३औँ मिनेटमा लगातार २ गोल गरेपछि न्युकासलले ४–० गोल अन्तरको अग्रता लिन सफल भयो।
घरेलु टोली लेस्टरले भने त्यसपछि मात्रै २ गोल गर्यो। उसका लागि मार्स अलब्रिटनले जेम्स भर्डीको पासमा गोल गर्दै अग्रता ४–१ मा झारेका थिए। त्यसको ७ मिनेटपछि केलिची इनह्यान्चोले गोल गरेर अग्रता ४–२ मा झारे पनि हार टार्न सकेनन्।