काठमाडौं । अनलाइनमार्फत मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ सञ्चालनमा आएको छ । काठमाडौंमा औपचारिक कार्यक्रम कम्पनीले आफ्नो सेवा सुरु गरेको हो ।जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको यो सेवाले मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
‘ह्याप्पी माइण्डस्’ को सेवाको उद्घाटन गर्दै गायिका आनी छोइङ डोल्माले युवाहरुलाइ अनिवार्य रुपमा आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव दिइन् । संगीतले पनि थेरापीको काम गर्ने भन्दै उनले आफ्नो शारीरिकसँगै मानसिक स्वास्थ्यको समेत ख्याल राख्न आग्रह गरिन् ।उपयुक्त समयमा समयमा आवश्यक सेवा शुरु गरेको भन्दै उनले ह्याप्पी माइन्ड्सको सफलताको कामना पनि गरिन् । मनोचिकित्सक डा सुरज शाक्यको नेतृत्वको ह्याप्पी माइण्डसमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ आवद्ध छन् ।
डा शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको उल्लेख गर्दै रोजगारदाताहरुलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाई आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल राख्न आग्रह गरे ।
मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन उनको अनुरोध छ ।
ह्याप्पी माइन्ड्सका प्रबन्ध निर्देशक श्रेया गिरिले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदान गर्न यो सेवा सञ्चालनमा ल्याइएको बताइन् । ‘कोरोना महामारीको प्रकोपपछि विश्वभर मानसिक समस्या विकराल बन्दै गइरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिन थालेको छ,’ गिरिले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले ह्याप्पी माइन्डस् सुरु गरेका हौं ।’
कसरी लिने सेवा ?
सेवाग्राहीले ह्याप्पी माइन्ड्सको वेबसाइटबाट मानसिक स्वास्थ्यम्बन्धी सेवा लिनका लागि अनुरोध गर्न सक्नेछन् । हाल धेरै भार परेकाले साइट क्र्याश भएको बताइएको छ ।सेवाग्राहीले टेलिथेरापी र अनलाइन परामर्शका लागि कम्पनीको फेसबुक पेजमा र इन्स्टाग्राममा समेत म्यासेज गर्न सक्नेछन् । त्यसबाहेक कम्पनीका मोबाइल नम्बर ९८१३२७००२६र९८४७९०८७६२ मा कल गरेर समेत सेवा लिनका लागि सम्पर्क गर्न सक्नेछन् ।
प्रबन्ध निर्देशक गिरिका अनुसार हाल कम्पनीले अनलाइन परामर्श र टेलिथेरापी सेवा सञ्चालन गरिरहेको छ । समूहमा दिइने परामर्श सेवाका लागि १२० मिनेटको अनलाइन सेसनका लागि १२,०० रुपैयाँ शुल्क राखिएको छ ।यस्तो सेसनमा १२ देखि १५ जना बिरामीहरु रहने बताइएको छ । उनीहरुलाई मेन्टल हेल्थ नर्स र काउन्सिलरले परामर्श दिने गर्दछन् । सही परिणामका लागि सकेसम्म चार देखि पाँच वटा सेसनमा सहभागी हुन कम्पनीको सुझाव छ ।
सेसन बुकिङ गर्नु अघि नै त्यस सम्बन्धि विषयवस्तु उपलब्ध गराइनेछ । टेलिथेरापी भने क्लिनिकल साइकलोजिस्टले दिने गर्दछन् । यस्तो थेरापी समूहमा नभएर एक एक जना बिरामीलाई दिइने कम्पनीले जनाएको छ ।यसका लागि ६० मिनेटको सेवाका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । बिरामीहरुले कनेक्ट आईपीएस, फोनपे, ईसेवा, बैंक ट्रान्सफर आदि माध्यमबाट सेवा शुल्क तिर्न सक्नेछन् । देश बाहिर बस्नेका लागि पेपालबाट भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
टेलिथेरापी तथा अनलाइन परामर्शका लागि जूम तथा गुगल मिट प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल अनलाइनबाट मानसिक स्वास्थ्य सेवा लिनेहरुमा कक्षा १२ का विद्यार्थी धेरै रहेको प्रबन्ध निर्देशक गिरिले बताइन् ।