धनगढी, २२ वैशाख/ एकता ट्राभल्स समितिका सदस्यहरुले भारतबाट सुदूरपश्चिम आइरहेका यात्रुहरु माथि कुटपिट गरेको गुनासो गरिएको छ। कोरोना कहरकैबिच भारतको गुजरातदेखि गौरीफन्टासम्म आइरहेका यात्रुहरुमाथि कुटपिट गरेको गुनासो गरिएको हो।
बसमा सवार कैलालीको भजनीका स्थानीय गोकुल बोहराका अनुसार गाडी स्टाफहरुले दोस्रो पटक भाडा माग्न थालेपछि सामान्य विवाद हुँदा आफुहरु कुटपिटको सिकार हुनु परेको गुनासो गरे। ‘हामी मुम्बैदेखि ५० जना आएका छौं, हामी सबैले ३५ सयको दरले ट्राभल्स समितिका सदस्य शेर सुनारलाइ भाडा बुझाएका छौं,’ उनले भने, ‘त्यो मन्छे हाम्रो सम्पर्कमा छैन्, तर गाडीमा सवार अन्य सदस्यहरु भने फेरी भाडा मागिरहेका छन्।’
भारतमा तिब्रगतिमा फैलिरहेको कोरोनाबाट सुरक्षित रहनका लागि घर फर्किरहेकाहरु यात्रुहरु संग दुई पटक भाडा असुल्ने योजना ट्राभल्स समितिले बनाएको आरोप लागेको छ। बिचबाटोमा पुगेपछि भाडा देउ भनेर धम्काउने, गाडीबाट उतार्छु भन्नुका साथै केही यात्रुहरुमाथि कुटपिट समेत भएको छ।
समितिकै व्यक्ति भाडा उठाएर फरार भएका छन्। तर सोही समितिका अन्य सदस्यहरु भने यात्रुहरु अनावश्यक दुःख दिइरहेका छन्। यस विषयमा प्रतिक्रिया माग्न खोज्दा एकता ट्राभल्स समितिका पदाधिकारीहरु भने सम्पर्कमा आएनन्।