धनगढी: नर्सिङ कर्मचारी आकांक्षासिंह राठौर महाकाली अस्पतालको कोभिड वार्डमा थिइन् तीन दिनअगाडि एक जना पुरुष स्वाँ–स्वाँ गर्दै आइपुगे ।
उनलाई स्ट्रेचरमा राखेर इमर्जेन्सी वार्डबाट ल्याइएको थियो । ती पुरुष कोरोना संक्रमित थिए । उनको शरीरमा अक्सिजनको मात्रा ६० प्रतिशतमात्र थियो । ‘हामीले तुरून्तै उहाँलाई अक्सिजनमा राख्यौं । उहाँको श्वासप्रश्वासको गति एक्कासि तलमाथि भयो । पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरू ग¥यौं,’ उनले भनिन् । त्यो घटनाले राठौरलाई अहिले पनि झस्काउँछ ।
‘जति कोशिश गरे पनि उहाँलाई पहिलाको अवस्थामा ल्याउन सकेनौं । उहाँको मृत्यु भयो,’ उनले भनिन् । मान्छे बाँच्नका लागि यतिसम्म प्रयास गर्ने रहेछ भन्ने उनले तिनै पुरुषलाई देखेर थाहा पाइन् उनलाई बचाउन नसकेको कुराले राठौरलाई अहिले पनि पोल्छ । ‘अस्पतालमा बिरामीहरू छटपटाई रहेका हुन्छन ।
कोही हात समात्दा–समात्दै मर्छन । आफ्नो तनाव छुट्टै छ । परिवारको तनाव अर्कै छ,’ उनले भनिन् । आइसियूमा त्यस्ता दृश्य देखेकी उनलाई बाहिर केही मानिसले कोरोनामाथि गरिरहेको हेलचक्र्याइँ देखेर दुःख लाग्छ । ‘भित्र हामीले यसरी काम गर्नु परिरहेको छ तर बाहिर मान्छे अहिले पनि बिना कुनै सावधानी हिँडिरहेका छन्,’ उनले भनिन् ।
अस्पताल आउने सबैलाई आफूहरूले परिवारको सदस्यझैं सेवा दिने उनले बताइन् । ‘ती बुबाको अनुहार मलाई प्रस्टै याद छ । हामी यहाँ आएका सबैलाई आफ्नो परिवारको मान्छे जसरी नै सेवा दिन्छौं,’ उनले भनिन् । ती पुरुष अस्पताल पुग्दा उनलाई नमस्कार गरेर ढोग्न आएका थिए । ’बचाइदिनुस’ भन्दै बिन्ती गरेका थिए ।
‘मलाई बचाइदिनुस्, तपाईं नै भगवान हो भनेर नमस्कार गरेको मलाई याद छ,’ उनले भनिन् । अहिले अरू दर्जनौं बिरामी दैनिक यस्तै गरी अस्पतालमा कोरोनासँग लडिरहेका छन । महाकाली अस्पतालको आइसियूमै चार जना संक्रमितको मृत्यु भइसकेको छ । राठौर बिहान ८ देखि बेलुका ५ बजेसम्म ड्युटीमा हुन्छन् । नाइट ड्युटीले १३ घन्टासम्म पिपिईमा काम गर्नु परिरहेको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालका डाक्टर पवन जोशी कोरोना उपचार भवनमा जाँदा नयाँ संक्रमित नआऊन्, अस्पतालमा भएका निको भएर जाऊन् भन्ने सोचेर जान्छन् । उनी अस्पतालभित्र पसेपछि कोही छट्पटाएका, कोही कमजोर भएर सुतिरहेका, कोही अक्सिजनको सहायतामा, कोही आइसियूमा त कोही भेन्टिलेटरमा हुन्छन् । ‘अस्पतालमा छटपटाइरहेका, बाँच्नका लागि तड्पेका, हात जोड्दै मलाई बचाउनुस् भनिरहेका हुन्छन्,’ उनले भने । उनलाई सेतो पिपिई लाइसकेपछि डर हट्छ, मेरो काम यही हो, मैले ज्यान बचाउनु पर्छ भनेर आत्मबल बलियो पार्छन । ‘बिमारीको अवस्था बुझ्छु, खाना, दिसापिसाब भए÷नभएको सोध्छु, कस्तो महशुस भइरहेको छ रु सोधेर औषधी दिने, अक्सिजनको मात्रा हेर्ने काम गर्छु,’ उनले भने ।
बिरामीको अवस्थाबारे नर्सिङ कर्मचारीसँग, बिरामी र कुरूवासँग काउन्सिलिङ गर्ने काम पनि गर्नुपर्छ । ‘जो अलि गम्भीर छन्, उनीहरूलाई ध्यान दिइन्छ,’ उनले भने । उनी काम गर्ने कोभिड वार्ड, कोभिड आइसियू संक्रमितले भरिएको छ। अक्सिजन पुगिरहेको छैन । कर्मचारीको पनि कमी छ ।
‘बिरामीहरू कोही अक्सिजनमा हुन्छन्, अक्सिजन चाहिएका केहीले पाएका हुँदैनन । उनीहरूका आफ्ना मान्छेहरू के हुने हो भन्ने चिन्तामा हुन्छन्, संख्या बढी भएर बिरामी म्यानेज गर्न सकिएको छैन,’ उनले भने । बिरामीलाई अक्सिजनको अभाव हुँदा, बेड नहुँदा उनको मन दुख्छ । ‘बिरामीलाई मैले पनि केही गर्न सकिनँ भनौं भने हतोत्साहित भइहाल्छन्, त्यसैले सान्त्वना दिएर व्यवस्था गर्नतिर लाग्छौं,’ उनले भने ।
बिरामीहरूले सोध्ने प्रश्न उही हुन्छ– निको हुन्छ कि नाइँ, कति दिन लाग्छ होला रु ‘हेर्दार्हेर्दै मृत्यु भएको अवस्था छ । त्यो देखेर त आँसुमात्रै झर्न बाँकी हुन्छ हाम्रो पनि,’ उनले भने । एकै वार्डमा सँगै रहेकामध्ये एक बिरामी मरेको खबर अरूलाई सुनाउँदैनन् । ‘बिरामी आफैं समस्यामा हुन्छ, अर्काको अवस्था थाहा पाए झन् असहज होला भनेर खबर गर्दैनौं,’ उनले भने । अहिले स्वास्थ्यकर्मीले कोभिड वार्डमा बिरामीसँग गर्ने व्यवहार फरक भएका छन् । ‘हामीले बिरामीलाई स्पर्श गरेर, अंकमाल गरेर, पटक–पटक हेरेर उपचार गर्नु पर्नेमा अहिले सक्दो कम भेट्नु परेको छ, दूरीमा रहनु परेको छ,’ उनले भने । कोभिड वार्डमा रहँदा पानी पनि नखाने र बाथरूम पनि नजाने प्रयासमा उनीहरू हुन्छन् ।
बेलुका अस्पतालबाट निस्कँदा बिरामीलाई आफ्नो पालो सकियो, अरू आउनुहुन्छ, नआत्तिनुस् भनेर जान्छन् । अस्पतालमा रहेका बिरामीहरू मरेको देखेर उनी जस्ता स्वास्थ्यकर्मी चिन्तित छन । ‘डाक्टर र नर्स नै बिरामीको अन्तिम अवस्थामा सँगै हुन्छन्, हामीले नै छोडर जाने कुरै आएन,’ उनले भनिन् । अहिले कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मी परिवारबाट आफूलाई टाढै राख्न चाहन्छन् । जोखिम भएकाले परिवारसँगै बस्ने रहर बिर्सेर उनीहरू फोन, अनलाइनबाटै आफन्तसँग नजिकिन्छन ।
उनीहरू परिवारका महत्वपूर्ण क्षणमा सहभागी हुन पाउँदैनन । महाकाली अस्पतालकी नर्सिङ स्टाफ राठौरका बुवाको बुधबार जन्मदिन थियो । अहिले उनी बिदा लिन मन नै नलागेको बताउँछिन् । ‘आज बुवाको जन्मदिन हो, मन छ तर जाँदैन,’ उनले भनिन् । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा छ । दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ । कतिले ज्यान गुमाएका छन् । तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा अभाव छ ।
संक्रमितको उपचारका लागिपरेका यहाँका अस्पतालहरूले जसोतसो तानतुन गरेर व्यवस्थापन गर्दै आएको भए पनि अब त्यसो गरेर पनि सम्भव नभएको बताएका छन । धनगढीको सेती प्रादेशिक अस्पतालपछि धेरै संक्रमित भएको प्रदेशको दोस्रो महाकाली अस्पतालमा पनि बेड, अक्सिजन, आइसियू र भेन्टिलेटरको अभाव हुँदै जान थालेको अवस्था छ ।
दैनिक अस्पतालमा संक्रमित आउने क्रम बढेपछि जनशक्ति र उपकरण अभावबारे सम्बन्धित निकायमा पत्राचार गरिसकेको अस्पताल प्रशासनले जनाएका छन् । महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले थप व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रदेश सरकार र जिल्लाको कोभिड व्यवस्थापन समितिमा कुरा सुनाइसकेको तर, के गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताए । ‘हामीले बेड, स्वास्थ्यकर्मी, अक्सिजनका लागि सिलिन्डरलगायत आवश्यक स्रोत थप गर्ने भन्ने कुरा गरेका छौं, छलफल भइरहेको छ निर्णय आएको छैन’, उनले भने ।