धनगढी: कैलालीमा ४५ मिनेटमा ३ सङ्क्रमितको मृत्यु भएको । सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना तथा होम आइसोलेसनमा रहेका १ जनाको ४५ मिनेटको अवधिमा मृत्यु भएको हो ।
११ बजे लम्की चुहा नगरपालिका २ का ३३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।
११ : ४५ मा घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
बुधवार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसियुमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो ।
११ बजे नै कैलालीका गोदावरी नगरपालिकाका ८७ बर्सिया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।