कञ्चनपुर : कञ्चनपुरमा ‘सुरक्षित चेली’ कार्यक्रम शुक्रबारदेखि सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा ‘सुरक्षित चेली समृद्ध समाजको आधार, अपराधरहित समाजको पूर्वाधार’ भन्ने नारासहित सुरक्षित चेली अभियानको शुभारम्भ गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले समाजमा विद्यमान महिला हिंसा रोक्नका लागि जनचेतना फैलाउने कार्यसँगै कानुनी प्रकृयाका बारेमा सजग गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।
‘सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको छ’ उनले भने, ‘बालविवाह, दाइजो प्रथा, बहुविवाहसहित महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र प्रताडनाविरुद्ध सचेतना फैलाउनका लागि कार्यक्रमले सघाउ पुर्याउनेछ।’
हिंसारहित समाज निर्माण गर्नमा कार्यक्रमले सघाउ पुर्याउने उनको भनाइ छ। कार्यक्रम जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन गरिनेछ।
कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रहरीबीच समन्वयको कार्यसमेत गरिनेछ। कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्याउनका लागि चेतनामूलक कार्यक्रमहरु विभिन्न माध्यबाट गाउँगाउँ र टोलमा पुर्याउने लक्ष्य लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाकान्त चतुर्बेदीले बताए।
हिंसा गर्नेमाथि कस्तो कानुनी प्रकृया अपनाउनुपर्छ। यसका लागि के गर्नु पर्दछ भन्नेबारे समेत कार्यक्रमका माध्यमबाट चेलिबेटीहरुलाई जानकारी दिईने उनले बताए।
