धनगढी : व्यवसायीक रुपमा माछापालन गरेर सुदूरपश्चिम प्रदेशका किसानले १० करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
व्यवसायीक माछा पालनका लागि प्रदेश सरकारले ९० हेक्टर क्षेत्रफलमा पोखरी निर्माणका लागि बजेट विनियोजन गरेपछि १२६ ओटा मत्स्य व्यवसायमा संलग्न किसान लाभान्वित भएका हुन् ।
प्रदेशभित्र रहेका प्राकृतिक तालतलैया, जलाशय र चिसो पानीमा व्यवसायीक माछापालनको संभाव्यता अध्ययन तथा व्यवसायीक रेन्बो ट्राउट माछापालन संभाब्यता अध्ययन गरेर पहाडी जिल्ला डोटीको जोराय र सायल गाउँपालिका, दार्चुलाको मार्मा गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाभित्र रेन्बो ट्राउट माछापालन शुरु गरिएको प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ ।
सरकारी स्वामित्वको प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र गेटा कैलालीबाट ह्याचिङ्ग, फ्राई, फिंगरलिङ्ग र खानेमाछा गरी ५ करोड ९७ लाख ७ हजार ८२९ गोटा माछा विक्री गरेर केन्द्रले ६० लाख १४ हजार ४६ रुपैयाँ राजस्ववापत रकम संकलन गरेको मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले बताए ।
मत्स्य विकास केन्द्रले विक्री गरेका माछाको गोटा खरिद गरेर प्रदेशका किसानले १० करोडर वरावरको आम्दानी गरेको उनले बताए । मासु तथा मासुजन्य पदार्थको स्वच्छता कायम गर्दै मन्त्रालयले ५ ओटा मिटमार्ट र कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टिकापुर तथा अछामको मंगलसेनमा गरी तीन ओटा बधशाला निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले तयारी मासु तथा दुग्धजन्य पदार्थको ढुवानीका लागि ५० प्रतिशत अनुदानमा तीन ओटा चिलिङ्ग भ्यानसमेत वितरण गरेर बजारीकरणमा सहज भएको बताइएको छ ।