धनगढी : एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम स्टारसिटी युवा क्लब कैलालीले दोस्रो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर १ को लिंग च्याम्पिएन सैनिक फुटबल क्लब झापालाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।
खेलमा स्टारसिटीका तर्फबाट ५ नं. जर्सीका कुलदिप कार्कीले पेनाल्टीमार्फत ३८ मिनेटमा पहिलो गोल गरेर जितको सुरुवात गरेका थिए । त्यस्तै ६६ मिनेटमा दोस्रो गोल १७ नं। जर्सीका रूपबहादुर लामाले गर्दै टिमलाई जिताएका थिए । सैनिक फुटबल क्लब झापाका तर्फबाट २० नम्वर जर्सीका जीवन गुरुङले ४० मिनेटमा १ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सैनिकका गोलकिपर एवं कप्तान किशोर गिरी घोषित भए । सुदुरपश्चिमको स्टार सिटीले दुई खेल जित्दै ६ अंक जोडन सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।
यसैगरी प्रतियोगिताअन्तर्गत बिहीबार दुईवटा खेल हुनेछन् । जसमा प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब रौतहट र लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब बाँके बीच पहिलो खेल दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल बागमती प्रदेश च्याम्पियन धादिङ समाज र गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङका बीच ४ बजे नेपालगन्ज रंगशालामा हुने छ ।
आगामी चैत १५ गतेसम्म सञ्चालन हुने लिगमा ७ प्रदेशका टिमले प्रतिस्पर्धा गरिरहेका छन् । पे्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् ।