धनगढी : जनगणनाका लागि बझाङमा कार्यालय स्थापना भएको छ । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । सुपरीवेक्षकले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् ।
गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् । जिल्लामा जनगणना २०७८ का लागि ८४ सुपरीवेक्षक र २ सय ७६ जना गणक गरी ३ सय ६० जना जनशक्ति परिचालन हुने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताए ।
जिल्लामा एउटा मुख्य कार्यालय र अन्य तीन ठाउँमा इलाका कार्यालय खोलिएको उनले बताए । धामीका अनुसार जिल्ला जनगणना कार्यालय चैनपुरले जिल्लाका जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा, छविसपाथीभेरा र सुर्मा गाउँपालिकालाई हेर्ने भएको छ ।
केदारस्युँ गाउँपालिका अन्र्तगत रहेको कार्यालयले केदारस्युँ, दुर्गाथली र थलारा गाउँपालिकालाई हेर्नेछ भने तलकोट गाउँपालिका अन्तर्गत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्नेछ । यस्तै बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचिर गाउँपालिका हेर्ने भएको छ ।
जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति गठन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र गठन गरिने छ ।