धनगढी : डोटीको बडिकेदार गाउँपालिका–५ अत्तरकाँडाका दीपेन्द्र सिराडी बेलुकी धनगढी रहेकी बहिनीसँग फोनमा कुरा गर्न कहिल्यै पाउँदैनन् । दिनभर कामकै चटारोले बहिनीको हालखबर बुझ्न नपाउने उनी बेलुकी फुर्सदिलो समयमा कहिल्यै कुरा गर्न पाउँदैनन् । उनी मात्रै हैनन् बडिकेदार गाउँपालिका–५ का १० गाउँका मोबाइल फोन प्रयोगकर्ता बेलुकी कहिल्यै आफन्तसँग फोनमा कुराकानी गर्नै पाउँदैनन् । कारण हो नेपाल टेलिकमको टावरले घाम डुब्दै गर्दा काम गर्न छोड्छ ।
‘नेपाल टेलिकमले गाउँकै माथिल्लो डाँडोमा टावर त राख्यो, तर टावरले जसोजसो घाम डुब्दै जान्छ, मोबाइलमा नेटवर्क हराउँदै जान्छ,’ सिराडीले भने, ‘धनगढी रहेकी बहिनीको दिनभरको हालखबर, सन्चो विसन्चो सोध्न नपाउँदै मोबाइलले काम गर्नै छाड्छ ।’ नेपाल टेलिकमले ६ वर्षअघि बडिकेदार लेकबाट अत्तरकाँडामा टावर सारेको थियो । टावर सार्न नपाउँदै यस क्षेत्रमा घाम डुब्दा मोवाइलले काम गर्नै छाड्ने समस्या देखिएको अर्का स्थानीय व्यवसायी नरबहादुर मौनी बताउँछन् ।
‘घाम लागेका दिन दिनभर नेटवर्कले काम गर्छ, घाम नलाग्दा दिउँसो पनि कामै गर्दैन,’ उनले भने,‘राति त जहिल्यै पनि उही समस्या हो ।’ राति कोही बिरामी पर्दा या समस्या परेमा एम्बुलेन्स भएको ठाउँसम्म हिँडेरै गएर बोलाउनु पर्ने बाध्यता रहेको उनले बताए । ‘यस ठाउँमा रातिको समयमा कोही बिरामी प¥यो भने एम्बुलेन्समा अस्पताल लैजान एम्बुलेन्स भएको ठाउँसम्मै खबर गर्न पुग्नु पर्छ,’ उनले भने,‘टेलिकमको टावर हुँदा पनि चौबीसै घण्टा नेटवर्क नहुँदा हामीलाई रातिको समयमा सास्ती खेप्नु परेको छ ।’
घाम लाग्दा दिनभर काम गरेपनि बेलुकीपख मोवाइलको नेटवर्क नै नहुने समस्याले यहाँका आमउपभोक्ताले दुःख पाइरहेको वडाध्यक्ष विकास बिनाडीले बताए । उनले भने,‘हामीले क्षेत्रीय कार्यालय अत्तरियालाई नेटवर्कको समस्या समाधान गरिदिन भन्दै पटक पटक जानकारी गरायौँ, तर कुनै पहल भएन ।’ अझै पनि त्यसका लागि सम्बन्धित निकायमा धाइरहेको उनले बताए ।
अत्तरकाँडामा राखिएको केदारेश्वरको टावरमा फोरजी राखिएपछि थप समस्या देखिएको बताउँदै नेपाल टेलिकम डडेल्धुराका इञ्जिनियर पुष्प सुनारले भने,‘सोलार सिस्टमले केही समस्या देखिएपनि फोरजीपछि पावर नपुग्दा समस्या थपिएको हो ।’ अत्तरकाँडाको टावरको समस्या समाधान गर्न चाँडै अपडेट गर्ने उनले बताए । ‘हामी अब चाँडै टावरको अपडेट गर्छौँ,’ उनले भने,‘सोलार सिस्टमबाट चलेका टावरमा केही समस्या देखिएको छ, त्यसलाई सुधार गर्नेछौँ ।’
