धनगढी, २८ फागुन/गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अन्डैया पुग्यो। अन्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको छ। त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाको वन क्षेत्रमा पनि दुई महिनादेखि बाघ घुमिरहेको छ। लम्कीचुहा नगरपालिकाको जनकल्याण सामुदायिक वनमा दुई महिनादेखि बाघ रहेको सामुदायिक वनका अध्यक्ष गोविन्द रावतले बताए। उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट क्यामेरा ट्र्यापिङ गर्दा बाघ देखिएको हो।
यस्तै कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रमा पनि दुईदिनदेखि बाघ घुमिरहेको छ। पछिल्लो दुई महिनायता कैलालीका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा बाघ देखिन थालेका छन्। कैलाली पुस्तौंदेखि बाघको बासस्थान रहेको र पछिल्ला वर्ष वन अतिक्रमणसँगै जनघनत्व बढ्न थालेपछि असुरक्षित बनेका बाघ सुरक्षित बासस्थानको खोजीमा बाहिर गएको बताउँदै विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने, ‘बाघको बासस्थान मासिँदा बाहिर गएका बाघ पुनः कैलालीमा वनको अवस्था सुध्रिन थालेपछि फर्केका हुन सक्छन्।’
सन् २०१८ को तुलनामा बाघको संख्या बढेको हुनसक्ने बताउँदै उनले थपे, ‘नेपालमा बाघको संख्यामा सुधार भएको छ, बाघको संख्या बढ्दा उसले आफ्नो बासस्थान बनाउन बर्दिया राष्ट्रिय निकुञ्ज, दुधुवा नेसनल पार्क तथा कैलालीकै राष्ट्रिय वनबाट आएको हुन सक्छ।’ एउटा क्षेत्रमा एउटा मात्रै बाघ बस्ने भएकाले बाघको संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा बाहिर आएको हुनसक्ने आँकलनसमेत गरिएको वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरू बताउँछन्।
पछिल्लो समयमा बाघ बस्तीनजिक देखिन थालेपछि भारतको दुधुवा नेसनल पार्कबाटै आएको हुनसक्ने आँकलन गरिए पनि पुस्तौंदेखि कैलालीकै जंगलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत अर्का संरक्षणकर्मी विजय श्रेष्ठले बताए। ‘यो बाघ बाहिरबाट आएको नभई कैलालीकै बसन्ता क्षेत्रको बाघ हो,’ उनले भने, ‘कैलालीमा बाघको संख्या बढेको छ, त्यसैले सिकार र सुरक्षित बासस्थानको खोजीमा बाघ कैलालीका विभिन्न ठाउँमा देखिन थालेका छन्।’
बाघको संख्यामा वृद्धि भई आफ्नो बासस्थानको खोजीमा कैलालीमा भौंतारिरहेको बताउँदै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘सुरक्षित र आहारा भएको बासस्थानको खोजी गर्दै बाघ डुलिरहेको छ।’
अत्तरिया क्षेत्रमा दुईदिनदेखि बाघ देखिएको भन्ने खबर आएकाले क्यामेरा ट्र्यापिङका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषसँग समन्वय भइरहेको उनले बताए। नागरिक दैनिकबाट