धनगढी, २४ फागुन/सिमावर्ती नाका भारतबाट अबैध सामानको तस्करी र भन्सार छलिका सामानमा वृद्धि भएको भन्दै सोमवार कञ्चनपुरको पुनर्वास बजार बन्द गराईएको छ । उद्योग बाणिज्य संघ पुनर्वास शाखाले नगरपालिका भित्रका स्थानिय बजारहरु आधा दिन दिउसो १२ बजे सम्मका लागि बन्द गराएको हो ।
उद्योग बाणिज्य संघले बन्द आह्वान गरेपछि पुनर्वासका मुख्य बजार आईबिआरडी बजार र प्रतिभा बजार पूर्ण रुपमा बन्द भएका छन । ब्यवसायीहरुले सिमा नाकामा कडाई गरिनुका साथै भन्सार कार्यालयको स्थापनाका लागि स्थानिय निकाय सँग माग समेत गरेका छन । भारतीय सिमा सँग जोडिएको पुनर्वासमा खुला सिमाका कारण विभिन्न चोरी नाका हुँदै लागू औषध जस्ता अबैध सामानका साथै भन्सार छलेर लाखौँको मालसामान भित्रिने गरेको स्थानियहरु बताउँछन ।
स्थानिय निकाय सँग सिमा नाका बन्द गर्नका लागि पटक पटक अनुरोध गरेको र डेलिगेशन समेत गएता पनि नगरपालिकाले कुनै चासो नदेखाएपछि साँकेतिक रूपमा बजार बन्द गराउनु परेको कञ्चनपुर उद्योग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण बहादुर तामाङ्ग बताउछन । अझ पनि स्थानिय निकायले चासो नदेखाए सशक्त आन्दोलन गरिने उद्योग बाणिज्य संघ पुनर्वास शाखाले जनाएको छ ।
स्थानिय निकाले बेवास्ता गरेमा फागुन २६ गते नगरपालिका घेराउ, तालाबन्दि लगायतका सशक्त आन्दोलन गरिने उद्योग बाणिज्य संघले जनाएको छ । कोरोनाका कारण देशमा लकडाउन भएपछि स्थानिय स्तरमै कृषि जन्य उत्पादन एवम कुखुरा पालन तर्फ आकर्षित भएका थिए । तर लकडाउन खुले सँगै अबैध सामानको तस्करी तथा भन्सार छलि गरि भारतबाट सामान भित्रन थालेपछि यहाँका ब्यवसायी धारासायी बन्दै गएको कञ्चनपुर उद्योग बाणिज्य संघ पुनर्वास शाखाका अध्यक्ष कृष्ण तामाङ्ग बताउछन।