धनगढी, १९ फागुन/ केही वर्षयता नेपाली फिल्म क्षेत्रमा हिट फिल्मको सिक्वेल वा सिरिज बनाउने होडबाजी राम्रै चलेको छ । बक्सअफिसमा हिट भएको फिल्मको पछाडि कुनै अंक वा नाम थपेपछि नयाँ फिल्ममा जस्तो दुःख गर्नु नपर्ने सोचाइ निर्देशक तथा निर्मातामा व्याप्त छ । यही कारण फिल्म व्यवसायिक रुपमा सफल भएपछि निर्माताहरु स्क्रिप्ट नै तयार नगरी सिक्वेल घोषणा गर्न हतारिन्छन् ।
यस्तैमा, मंगलवार शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्यो काले’ को सिक्वेल निर्माण हुन लागेको खबर बाहिरियो । शम्भु प्रधानले निर्देशनमा कमब्याक गरेको फिल्म ‘रंग बैजनी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका दिक्पाल कार्कीले मंगलवार आफूलाई जन्मदिनको उपहार स्वरुप निर्देशक राणाले ‘पोइ पर्यो काले’ को सिक्वेलमा अनुबन्ध गरेको फेसबुकमा उल्लेख गरेका थिए ।
शिशिर राणसँग सम्झौता पत्र साटासाट गरेको तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म चलचित्रबाट केही टाढा भएको अवस्थामा पनि सधैं चलचित्रमा फर्कन यहाँहरुले दिनु भएको उत्साह नै मेरो चलचित्र क्षेत्रमा रोकिसकेका कदमहरु पुनः सुचारु गर्ने प्रेरणा हो । चाँडै चलचित्रको नाम र विस्तृत जानकारी सार्वजनिक हुनेछ । चलचित्र ‘पोइ पर्यो काले’ को सिक्वेल रहनेछ ।’
शिशिर राणाले दिक्पाललाई ‘पोइ पर्यो काले’ को सिक्वेलमा अनुबन्ध गरेको समाचार प्रकाशन भएपछि यस फिल्मका निर्माता किरण नेपालीले आपत्ति जनाएका छन् । उनले यो फिल्मको सिक्वेल निर्माणको अधिकार निर्देशक राणासँँग नभएको र आफूले गत वर्ष नै रेड वर्ड प्रोडक्सनको ब्यानरमा चलचित्र विकास बोर्डमा ‘पोइ पर्यो बुढो’ नाममा सिक्वेल दर्ता गरेको जानकारी दिए ।
हाल काम विशेषले यूरोपमा रहेका उनले ह्वाट्सएपमा कुराकानी गर्दै भने, ‘शिशिर दाईले विना अनुमति र विना जानकारी ‘पोइ पर्यो काले’ को सिक्वेलमा दिक्पाल कार्कीलाई साइन गर्नुभएको कुरा सुनेपछि म छक्कै परेको छु । यसबारेमा बुझ्न खोज्दा उहाँको फोन अफ रहेछ । म यो फिल्मको सिक्वेल अधिकार कसैलाई दिन्नँ । म आफैं ‘पोइ पर्यो बुढो’ नाममा सिक्वेल बनाउन लागेको छु ।’
.jpg)
निर्देशक राणाले ‘पोइ पर्यो काले’ को सिक्वेल बनाउने भनेर प्रचार गरे वा जबरजस्ती फिल्म बनाए आफूले कानुनी उपचार खोज्ने समेत उनले चेतावनी दिएका छन् । निर्माता नेपालीले अगाडि भने, ‘म यो नाममा कसैलाई फिल्म बनाउन दिन्नँ । अहिले म दुई फिल्म निर्माणको तयारीमा छु । यसपछि ‘पोइ पर्यो बुढो’ बनाउँछु । निर्देशक र केही कलाकार परिवर्तन हुनेछन् ।’
निर्देशक राणाले भने आफूले ‘पोइ पर्यो काले’ को सिक्वेल बनाउन नलागेको प्रस्ट्याउँदै नयाँ फिल्ममा दिक्पाललाई साइन गरेको बताए । यसबारेमा उनले भने, ‘दिक्पालसँग नयाँ फिल्मका लागि कागजी सम्झौता भएको हो । उसले ‘पोइ पर्यो काले’ निर्देशकसँँग काम गर्न लागेको छु भनेर लेख्नुपर्नेमा सिक्वेलमा काम गर्दैछु भनेर लेखेका कारण कन्फ्यूजन भएको हो ।’
तर, अभिनेता कार्कीको बोली शिशिर राणासँग मिल्दैन । आफूलाई ‘पोइ पर्यो काले’ को सिक्वेलमा नै साइन गराइएको उनको दाबी छ । उनी भन्छन्, ‘मैले झुक्किएर ‘पोइ पर्यो काले’ को सिक्वेलमा काम गर्दैछु भनेर लेखेको होइन । म फिल्म नै गर्दिनँ भनेर बसेको मान्छे हुँ, किन झुट बोल्न पर्यो र रु मलाई ‘पोइ पर्यो काले’ सिक्वेल भनेरै साइन गराइएको हो ।’
निर्देशक राणा र अभिनेता कार्कीको दुईथरी बोलीले उनीहरुबीच परिपक्व निर्णय नहुँदै हतारमा कागजी सम्झौता भएको छर्लङ्ग हुन्छ । दिक्पालले ‘पोइ पर्यो काले’ को सिक्वेल भन्दै मख्ख भएर फिल्म साइन गर्नु र निर्देशक राणाले यस विषयमा उनलाई स्पष्ट पार्न नसक्नुले यो समस्या आएको स्पष्ट देखिन्छ । अब यसले उनीहरुको टिमअप नै संकटमा पर्ने त होइन ?