धनगढी, फाल्गुन १३/ सर्वोच्च अदालतले संसद् पुर्नस्थापनाको फैसला गरेपछि अबको सत्ता समीकरणका विषयमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले दलहरुसँगको छलफल अघि बढाएको छ ।
सर्वोच्चले मंगलबार बेलुका फैसला सुनाएपछि बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको प्रचण्ड-नेपाल समूहले बिहीबार पेरिसडाँडामा जनता समाजवादी जसपा सँग छलफल गरेको थियो ।
छलफलमा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमविरुद्ध लडेका दलहरु मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।
उनले भने, “उहाँहरुले प्रतिगमनविरुद्ध लडेका दलहरु नेकपा प्रचण्ड-नेपाल समूह कांग्रेस र जसपा मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । हामीले ओलीको प्रतिगमन सच्चिए पनि यसअघि कांग्रेस, तत्कालीन एमाले र माओवादीले गरेको प्रतिगमन सच्चिएको छैन । त्यसकारण अहिले सरकारमा जाने कुरा आउँदैन भन्ने हाम्रो भनाइ थियो ।”
उनले जसपाको सडक संघर्ष जारी रहने बताएका छन् । उनले भने, “संविधान जारी गर्दा भएका प्रतिगमनहरु सच्चिएपछि मात्रै सरकार गठनबारे सोच्न सकिन्छ । यसअघि विभिन्न सरकारहरुले संविधान संशोधन गर्ने वाचा दिए पनि अन्त्यमा धोका दिएकोले अब त्यसरी उधारोमा सरकारमा सामेल हुन सकिँदैन ।”
उनले जसपाले संविधान संशोधनको शर्तका लागि सडक आन्दोलनलाई थप सुदृढ बनाउँदै लैजानेसमेत बताएका छन् ।
यसअघि प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेता वामदेव गौतमसँग भेट गरेका थिए ।