धनगढी, फाल्गुन १२/ सुदूरपश्चिममा ३ ठूला बलात्कारका घटनाले सञ्चार माध्यममा राम्रो स्थान पाए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त, बझाङकी १२ वर्षीया सम्झना विक र बैतडीकी १७ वर्षीया किशोर भागरथी भट्टका घटनाले देशलाई नै एक पटक व्युँझायो । राज्यको पनि चासो बन्न पुग्यो ।
यी तीनै घटना एउटै प्रकृतिका छन् । बलात्कारपछि हत्या । बझाङकी बालिका हत्याका अपराधीलाई कानुन कठघरामा उभ्याएको छ । बैतडी किशोरी हत्याका आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कञ्चनपुरकी बालिकाका हत्यारालाई अझै राज्यले पहिचान गर्न सकेको छैन ।
यी घटनाबाहेक ३ वर्षमा धेरै बलात्कारका घटना भएका छन् । कतिपय मिलापत्रमा टुङ्गिएका छन् भने कतिपय धरौटीमा छुटेका छन् ।
प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिममा औसतमा हरेक दुई दिन एउटा बलात्कारको घटना हुने गरेको । प्रदेशमा कलिलो उमेरमै बालिकाहरू बलात्कारको सिकार बन्नुपर्ने क्रम बढेको छ । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा सुदूरपश्चिमका ४२ जना बालिका बलात्कृत भएका छन् ।
आर्थिक वर्ष ०७५र७६ मा १० वर्ष मुनिका सुदूरपश्चिम प्रदेशमा मात्रै २१ जना बालिका बलात्कारको सिकार भएका छन् ।
आव ०७६र७७ मा सुदूरपश्चिममा ९ जना र चालु वर्षको पुससम्म १० वर्ष मुनिका १२ जना बालिका बलात्कृत भएका छन् । उक्त तथ्यांकअनुसार अढाई वर्षमा सुदूरपश्चिमका तीन जना बालक १० वर्ष मुनिका बलात्कारका पीडक अर्थात् बलात्कारी भएको देखिन्छ।
विद्यालयमै असुरक्षित बालिका
पछिल्लो समय त विद्यालयका शिक्षकबाट समेत बालिका बलात्कृत हुने गरेको देखिएको छन् । यसले गर्दा बालिकाहरूलाई सुरक्षित राख्न अभिभावकहरूमा चुनौती थपिएको छ ।
डडेल्धुरामा १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माविमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरी अनुसन्धान भइरहेको बताए । चार दिन अगाडि मात्र कञ्चनपुरमा पनि बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका थिए ।
जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माविका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।
उजुरी बढेकाले घटना बढेको देखियो : प्रहरी
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । यस्ता घटना सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रहेका उनले बताए।
प्रहरी वरिष्ठ उपरीक्षक सिंह भने बलात्कारका घटना लुकाउने प्रवृत्तिमा कमी आएकाले संख्यात्मक रूपमा घटना बढी देखिएको बताउँछन् ।
‘अपराध पनि बढेको हो । अर्को कारण बलात्कारका मुद्दा प्रहरीमा आउनुले पनि संख्या बढ्दै गएको हो,’ उनले भने, ‘विगतमा मेलमिलाप गराउने अवस्था थियो, अहिले छैन।’ प्रहरीमा आएका घटनामध्ये करिब ९९ प्रतिशत कारबाहीको दायरामा आएको उनको दाबी छ।