धनगढी, फाल्गुन ११/ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकिएको छ । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो।
सर्वोच्च अदालतले अबको केही दिनमै प्रतिनिधिसभा विघटन मुद्दाबारे फैसला सुनाउने तयारी गरेको छ। स्रोतका अनुसार, दबाब र प्रभाव बढ्न सक्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छिटो निर्णय सुनाउनुपर्ने पक्षमा छन्।अब बढीमा दुईरतीन दिनभित्रमा सर्वोच्चले निर्णय सुनाइनसक्ने अनुमान गरिएको छ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस दुई महिनापछि सकिएको थियो। विघटनविरुद्धको मुद्दामा पक्ष(विपक्ष र एमिकस क्युरीको तर्फबाट बहस गर्ने क्रम शुक्रबारबाट सकिएको थियो। त्यसपछि ११ गते फैसलाको प्रक्रिया सुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउनसक्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासमा जानकारी दिएका थिए। एमीकस क्युरीका ५ जना कानुन व्यवसायीमध्ये विजयकान्त मैनालीबाहेक अरु कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको कदमलाई गैरसंवैधानिक भनेका छन् ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा पुस ७ गते प्रचण्ड–माधव पक्षका नेता देव गुरुङसहितका सांसदहरुले रिट दायर गरेका थिए।
प्रधानन्यायाधीश राणा अध्यक्षताको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन्।