धनगढी, ७ फागुन/ आज ७१ औं प्रजातन्त्र दिवस । १ सय ४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
आजको दिनलाई निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको रुपमा लिने गरिन्छ । प्रजातन्त्रकै जगमा देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाको सङ्घर्षको क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा आफ्नो बलिदान दिएका थिए ।
उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । राणा शासनविरुद्ध जनताले आन्दोलन गरेपछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले हरेक बर्ष विभिन्न कार्यक्रम गरि मनाउदै आइरहेको छ । आज पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ ।