धनगढी, ७ फागुन/ प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।
४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।
भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए । तर बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।
‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो ।’